काठमाडौँ, चैत १ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट आइतबार सर्वोच्च अदालतमा पेशी तोकिएको हो । उक्त रिटमाथि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुने जनाइएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन रहेका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामध्ये सहकारी ठगीमा मात्र मुद्दा चलाउने गरी अन्य अभियोग संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल तथा युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
महान्यायाधिवक्ताको निर्देशनपछि कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन पेश गरिएको भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसबारे थप सुनुवाइ हुन सकेको छैन ।
यस्तै काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस