काठमाडौं, चैत ३ - सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। उनीहरूले बढ्दो महिला हिंसा रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
प्रदर्शनकारीहरूले ‘बलात्कार अन्त्य गर’ र ‘अपराधीलाई सजाय दे’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले बलात्कारजस्ता जघन्य अपराधमा कडा कानुन लागू गर्नुपर्ने माग पनि राखेका छन्।
पोस्टमार्टम रिपोर्टअनुसार इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलेको छ। घटना सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा भएको थियो।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र पारेको जनाएको छ भने प्रदर्शनकारीहरूले निष्पक्ष छानबिन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस