काठमाडौं, चैत ६ - नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ। बैठक केहीबेरअघि प्रारम्भ भएको हो।
बैठकका लागि मुख्यतः दुई एजेन्डा तय गरिएको छ। पहिलो, हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने र दोस्रो, सभापति गगन थापा ले दिएको राजीनामाबारे छलफल गर्ने रहेको छ।
सभापति थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा मार्फत बुझाएका थिए। तर, उनी स्वयं भने बैठकमा उपस्थित नभएको जनाइएको छ।
पार्टीका महामन्त्री गुरुराज घिमिरे का अनुसार बैठक आज वा भोलिसम्म सकिनेछ। बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय गर्ने र त्यसपछिको बैठकले नियमित महाधिवेशनको मिति तय गर्ने तयारी रहेको उनले जानकारी दिए।
यसैबीच, उपसभापति शर्माले बैठकमा उक्त राजीनामा प्रस्तुत गर्दै अस्वीकृत गर्ने प्रस्ताव पनि अघि सार्ने तयारी गरेको स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस