काठमाडौँ, चैत ११ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावमा हार भए पनि अब पार्टी सडकबाटै जनताको सेवा गर्ने घोषणा गरेका छन्। उनले आफ्नो पार्टी ‘सडकको सरकार’ बनेर देशको राष्ट्रियता, समृद्धि र जनताको समस्याको समाधानमा सक्रिय भूमिका निभाउने बताए।
अध्यक्ष घिसिङले बुधबार सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै जनताले आफ्नो पार्टीलाई सडकमा खबरदारी गर्ने म्यान्डेट दिएको स्मरण गराए। उनले राजनीतिक स्थायित्वका लागि जनताले झन्डै दुई तिहाइको बहुमत दिएको स्वीकार गर्ने पनि स्पष्ट पारे।
उनले सरकारका राम्रा कामको समर्थन र गलत कामको कडा आलोचना गर्ने बताए। चुनावपछि बसेको केन्द्रीय कमिटीको बैठकमा देशभरका उम्मेदवारसँग समीक्षा गरिसकेको र आगामी दिनका लागि नयाँ कार्यदिशा तय गरिएको जानकारी पनि उनले दिए।
पार्टीले सातै प्रदेशमा भेला आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। बागमती प्रदेशपछि मधेस प्रदेशमा चैत १४ गते कार्यक्रम हुने र त्यसपछि जिल्ला, पालिका र वडा तहसम्म पुगेर सङ्गठन विस्तारको अभियान अघि बढाइने उनले बताए।
अध्यक्ष घिसिङले पार्टीलाई डिजिटल प्रचारमा सुधार गर्दै हरेक नागरिकको हातमा पार्टीको एजेन्डा पुर्याउने योजना रहेको बताए। आगामी स्थानीय तह र प्रदेशको चुनावमा पार्टीले उल्लेख्य उपस्थिति जनाउने र देशकै सशक्त शक्तिको रूपमा स्थापना हुने उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस