काठमाडौं, वैशाख, १५ - वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरेको एक म्यानपावर कम्पनीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ।
बसुन्धारास्थित एसोसिएट वेलकम इन्टरनेसनलले विभागको अनुमति बिना शाखा विस्तार गरी सञ्चालन गरेको पाइएपछि उक्त कारबाही गरिएको विभागले जनाएको छ। कम्पनीले बाग्लुङमा शाखा खोलेर सामाजिक सञ्जालमार्फत विज्ञापनसमेत गरेको भेटिएको थियो।
वैदेशिक रोजगार ऐनको दफा ४८ अनुसार अनुमति नलिई शाखा खोल्ने म्यानपावरलाई प्रत्येक शाखाका लागि २ लाख रुपैयाँसम्म जरिबाना गर्ने र शाखा बन्द गराउने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार कम्पनीलाई जरिबाना गर्दै शाखा बन्द गर्न निर्देशन दिइएको हो।
यसैबीच विभागले कानुन तथा निर्देशन पालना नगरेको भन्दै अन्य दुई म्यानपावर कम्पनीलाई पनि सचेत गराएको छ। टोखास्थित मास ह्युमन रिसोर्सेस र टेस्ला ओभरसिजलाई पहिलो पटकका लागि अभिलेखमै रहनेगरी चेतावनी दिइएको विभागले जानकारी दिएको छ।
उजुरीका आधारमा गरिएको अनुगमनपछि उक्त म्यानपावरमाथि कारबाही गरिएको जनाउँदै विभागले वैदेशिक रोजगारीसम्बन्धी कामकारबाहीमा कानुनी प्रक्रिया पालना गर्न सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस