काठमाडौं, वैशाख १३ - त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्नो जग्गा प्रयोग गरिरहेका संघ–संस्थालाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ । अतिक्रमित सम्पत्ति फिर्ता गर्ने निर्णयअनुसार त्रिविले यस्तो अल्टिमेटम दिएको हो ।
त्रिविले यसअघि वैशाख ४ गते नै सूचना जारी गर्दै आफ्नो स्वामित्वका जग्गा प्रयोग गरिरहेका १८ वटा निकायलाई हट्न भनेको थियो । सोही सूचीमा नेपाल क्रिकेट संघ (क्यान) पनि परेको छ, जसले मैदान प्रयोग गर्दै आएको छ ।
क्यानसँग त्रिविको सम्झौता यही वैशाख अन्त्यमा सकिँदैछ । तर विश्वविद्यालयका केही पदाधिकारीहरूले यसपटक सम्झौता नवीकरण नगर्ने संकेत दिएका छन्, जसले मैदानको भविष्य अनिश्चित बनाएको छ ।
क्यानले भने अहिलेसम्म औपचारिक पत्र नपाएको बताएको छ । त्रिविका अधिकारीहरूका अनुसार सार्वजनिक बिदाका कारण पत्राचार पुग्न ढिलाइ भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसबीच क्यानले सरकारमार्फत सम्झौता नवीकरण गर्न र वैकल्पिक मैदान व्यवस्थापनका लागि पहल गर्ने निर्णय गरेको छ । सरकारले त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालामा विकास गर्ने योजना अघि बढाए पनि पछिल्लो निर्णयपछि परियोजना प्रभावित हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस