काठमाडौँ, वैशाख १७ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार तिर्नुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएका छन्। उनले यस्तो निर्णयले सीमावर्ती क्षेत्रका नागरिकको दैनिकीमा अनावश्यक कठिनाइ थपेको उल्लेख गरेका छन्।
सर्लाहीको सीमावर्ती क्षेत्रको भ्रमणपछि प्रतिक्रिया दिँदै थापाले स्थानीयसँगको अन्तरक्रियामा भोगाइका समस्या प्रत्यक्ष सुनेको बताएका छन्। उनका अनुसार सामान्य सामान ल्याउँदा समेत नागरिकले सीमामा लामो समय कुर्नुपर्ने अवस्था रहेको छ।
उनले ज्यालादारी कामका लागि भारत जाने मजदुर र दैनिक उपभोगका सामग्री ल्याउने सर्वसाधारण यस नीतिबाट सबैभन्दा बढी प्रभावित भएको बताए। पहिले सहज रूपमा हुने आवतजावत अहिले असहज र डरयुक्त बनेको गुनासो स्थानीयले गरेको उनले उल्लेख गरेका छन्।
थापाले उक्त व्यवस्था नयाँ नभए पनि व्यवहारमा लागू गर्दा यसको अव्यवहारिकता झन् स्पष्ट भएको बताएका छन्। यसअघि पनि यस्तो कानुन भए तापनि कार्यान्वयन नगरिनुको कारण नै यसको असहजता भएको उनको भनाइ छ।
उनले सरकारसँग यस्तो निर्णय तत्काल फिर्ता लिन र सीमामा पहिलेजस्तै सहजता कायम गर्न आग्रह गरेका छन्। सीमावर्ती क्षेत्रलाई संवेदनशील रूपमा हेरी नागरिकमैत्री नीति ल्याउनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
प्रतिक्रिया दिनुहोस