२१ बैशाख २०८३ सोमबार | 04 May 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लिपुलेक विवादमा सरकारको अडान दोहोरियो, ‘भूमि नेपालकै हो’



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या ३३
  • काठमाडौं, वैशाख २१ - सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्गमा पर्ने भू–भाग नेपालकै भएको अडान फेरि दोहोर्‍याएको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सीमाना विवाद रहेको उक्त क्षेत्र नेपालकै भूमि भएकोमा सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताएका हुन्।

    भारतले हालै लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेपछि नेपालले आपत्ति जनाएको छ। यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले भारत र चीन दुवैलाई उक्त विवादित क्षेत्रमा कुनै पनि गतिविधि नगर्न कूटनीतिक नोट पठाइसकेको जनाएको छ।

    नेपालको उक्त कदमपछि भारतले भने सो मार्ग पुरानै भएको र नयाँ विषय नभएको प्रतिक्रिया दिएको छ। भारतीय विदेश मन्त्रालयले अप्रिल ३० मा जारी गरेको विज्ञप्तिमा सन् २०२६ जुनदेखि अगस्टसम्म मानसरोवर यात्रा सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।

    भारतका अनुसार यस वर्ष २० वटा समूहमार्फत यात्रा गराइनेछ, जसमा १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र बाँकी १० समूह सिक्किमको नाथु ला पास हुँदै जानेछन्। प्रत्येक समूहमा ५० जना यात्रु सहभागी हुने जनाइएको छ।

    प्रवक्ता पोखरेलले विवाद समाधानका लागि दुई देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संवादमार्फत समाधान खोज्नुपर्ने धारणा राखेका छन्। उनले नेपालले आफ्नो कूटनीतिक पहल जारी राख्ने समेत स्पष्ट पारे।