काठमाडौं, वैशाख ३१ - प्रतिनिधिसभा सदस्य महावीर पुन ले आफूले लामो समयदेखि उठाउँदै आएको माग सरकारले सम्बोधन गरेको बताएका छन्। विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठन गरिएकोमा उनले सरकारप्रति धन्यवाद व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले केही दिनअघि संसद्मा उठाएको विषय र तीन साताअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्ताव कार्यान्वयन भएको उल्लेख गरेका छन्। उनले अब नवगठित मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञहरूलाई छलफलमा सहभागी हुन आग्रह समेत गरेका छन्।
पुनले देशको विकासका लागि विज्ञान र प्रविधिको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै सरकारले गरेको निर्णय सकारात्मक भएको बताएका छन्। साथै उनले सरकारलाई दीर्घायुको शुभकामना दिँदै आक्रोशका क्रममा नेताहरूलाई दिएको ‘श्राप’ समेत फिर्ता लिएको उल्लेख गरेका छन्।
यसअघि पुनले प्रधानमन्त्रीसमक्ष विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई केन्द्रमा राखेर अलग मन्त्रालय स्थापना गर्न माग गरेका थिए। सरकारले सोही मागअनुसार नयाँ मन्त्रालय गठन गरेको हो।
प्रतिक्रिया दिनुहोस