७ जेठ २०८३ बिहिबार | 21 May 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संसद्‌मा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, जनसंख्याको आधारमा प्रतिनिधित्व मिलाउने प्रस्ताव



  • अञ्जना ढकाल
  • १५ घण्टा अघि
  • पाठक संख्या ४४
  • काठमाडौं, जेठ ६ - प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई महत्वपूर्ण विधेयक दर्ता भएका छन् । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ संसद्‌मा दर्ता गराएका हुन् ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी संशोधन विधेयक प्रधानमन्त्रीको हैसियतमा संसद्‌मा पेश गरिएको हो भने मतदाता नामावलीसम्बन्धी विधेयक सरकारको तर्फबाट अगाडि बढाइएको जनाइएको छ ।

    सरकारले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीलाई पछिल्लो राष्ट्रिय जनगणनाको तथ्यांकसँग मिलाउन आवश्यक रहेको भन्दै संशोधन प्रस्ताव अघि सारेको हो । नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ ।

    २०७८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार विभिन्न समुदायको जनसंख्या प्रतिशत अद्यावधिक भएकाले सोही आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था परिमार्जन गर्न विधेयक ल्याइएको उल्लेख गरिएको छ ।

    यस्तै, मतदाता नामावलीसम्बन्धी संशोधन विधेयक ल्याउनुको मुख्य उद्देश्य यसअघि अध्यादेशमार्फत गरिएका व्यवस्थालाई कानुनी मान्यता प्रदान गर्नु रहेको बताइएको छ । सरकारले छुट भएका मतदातालाई नामावलीमा समावेश गर्न अध्यादेशमार्फत व्यवस्था गरेको थियो ।

    सरकारले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित, समावेशी र अद्यावधिक जनसंख्या तथ्यांकअनुसार बनाउन यी विधेयक ल्याएको जनाएको छ । प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक भने बुधबार नै संसद्‌मा पेश गरिएको छ ।