२० जेठ २०८३ बुधबार | 03 Jun 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘देशभर हार्दा पनि नेतृत्व नछाड्ने?’ शाहीको लिङ्देन र धवलमाथि कटाक्ष



  • अञ्जना ढकाल
  • ११ घण्टा अघि
  • पाठक संख्या ३४
  • काठमाडौं, जेठ २० - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक विवादप्रति नेता ज्ञानेन्द्र शाहीले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच बढ्दो मतभेदले संगठन कमजोर बन्दै गएको भन्दै उनले नेतृत्व तहको व्यवहारप्रति आक्रोश पोखेका हुन्।

    शाहीले नेतृत्वबीचको शक्ति संघर्ष र आरोप–प्रत्यारोपले कार्यकर्ता तथा युवापुस्तामा निराशा फैलिएको बताएका छन्। उनले नेताहरू व्यक्तिगत महत्वाकांक्षा र पदको प्रतिस्पर्धामा अल्झिँदा पार्टीको भविष्य संकटमा परेको टिप्पणी गरे।

    उनले अध्यक्ष लिङ्देन र महामन्त्री राणा दुवैलाई लक्षित गर्दै अहिलेको आवश्यकता विभाजन नभई एकता भएको उल्लेख गरेका छन्। देशभर चुनावी पराजय भोग्दासमेत नेतृत्व परिवर्तनको विषयमा गम्भीर छलफल हुन नसकेको र अर्कोतर्फ निर्वाचन प्रक्रियाबिनै नेतृत्व प्राप्त गर्ने चाहना देखिएको भन्दै उनले प्रश्न उठाए।

    शाहीले पार्टीभित्र देखिएको ध्रुवीकरणले कार्यकर्ताहरू एकअर्काविरुद्ध उभिन बाध्य भएको उल्लेख गर्दै यसले संगठनको मनोबल कमजोर बनाएको बताए। उनले नेतृत्व भनेको पदमा मात्र अडिग रहने नभई आवश्यक पर्दा त्याग र जिम्मेवारी बहन गर्न सक्ने क्षमता भएको व्यक्ति हुनुपर्ने धारणा राखे।

    साथै उनले विज्ञप्ति निकाल्ने वा छुट्टाछुट्टै भेला आयोजना गरेर शक्ति प्रदर्शन गर्ने प्रवृत्तिको आलोचना गर्दै प्रत्यक्ष संवाद र खुला छलफलमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। आफू छलफलका लागि तयार रहेको जनाउँदै उनले शीर्ष नेताहरूलाई एकै ठाउँमा बसेर पार्टीको भविष्यबारे स्पष्ट निर्णय गर्न चुनौती दिएका छन्।