२ असार २०८३ मंगलबार | 16 Jun 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल–भारत सम्बन्धमा बढ्दै तनाव? एकपछि अर्को घटना चर्चामा



  • अञ्जना ढकाल
  • ७ घण्टा अघि
  • पाठक संख्या ३७
  • काठमाडौं, असार २ - पछिल्ला केही सातायता नेपाल–भारत सम्बन्धसँग सम्बन्धित विभिन्न घटनाहरू सार्वजनिक भएपछि राजनीतिक तथा कूटनीतिक क्षेत्रमा नयाँ बहस सुरु भएको छ। सीमा क्षेत्रका गतिविधिदेखि व्यापारिक अवरोधसम्मका विषयले दुई देशबीचको सम्बन्धलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ।

    गत १८ जेठमा पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रण गर्न निर्माण भइरहेको तटबन्धमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले आपत्ति जनाउँदै हस्तक्षेप गरेको घटना सार्वजनिक भएको थियो। भारतीय पक्षले तटबन्धको केही भाग आफूले दाबी गरेको विवादित क्षेत्रमा पर्ने बताएको थियो।

    यस घटनापछि सीमा विवादको विषय थप चर्चामा आउँदा भारतको विदेश मन्त्रालयले नेपाल–भारतबीच रहेका सीमा सम्बन्धी विषयहरू द्विपक्षीय संवादमार्फत समाधान गर्न सकिने भन्दै तेस्रो पक्षको आवश्यकता नरहेको धारणा सार्वजनिक गरेको थियो। उक्त प्रतिक्रिया प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा सीमा समस्या समाधानका लागि बेलायतसँग समेत संवाद भइरहेको उल्लेख गरेपछि आएको विश्लेषण गरिएको छ।

    त्यसैक्रममा २९ जेठमा सुस्ता क्षेत्रमा एसएसबी टोलीको गस्ती र स्थानीयवासीबीच विवाद भएको खबर सार्वजनिक भयो। स्थानीयले नेपाली भूमिमा प्रवेश गरेको आरोप लगाउँदै विरोध जनाएका थिए।

    यता, २७ जेठमा दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्र हुँदै भारतीय सैनिक हेलिकोप्टर कालापानी पुगेको विषयले पनि चर्चा पायो। स्थानीय प्रशासनका अनुसार उक्त उडानका लागि नेपाली पक्षबाट पूर्वस्वीकृति लिइएको थिएन। हेलिकोप्टरमा भारतको सीमा सुरक्षा निकाय आईटीबीपीका महानिर्देशक शत्रुजितसिंह कपुर सवार रहेको बताइएको छ।

    व्यापारिक क्षेत्रमा पनि यस अवधिमा असर देखियो। भारतीय चिया बोर्डले लागू गरेको नयाँ कार्यविधि (एसओपी) का कारण नेपाली चिया भारत निर्यातमा कठिनाइ उत्पन्न भएको उद्योगीहरूको गुनासो छ। यसको प्रभाव इलाम र झापाका चिया उद्योगहरूमा परेको बताइएको छ, जहाँ केही उद्योग सञ्चालनमै समस्या देखिएको छ।

    यी घटनाहरूलाई लिएर विभिन्न राजनीतिक विश्लेषणहरू सार्वजनिक भइरहेका छन्। कतिपयले यसलाई प्रधानमन्त्री बालेनको पछिल्लो कूटनीतिक अभिव्यक्ति र भारतसँगको सम्बन्धसँग जोडेर हेरेका छन्। यद्यपि, नेपाल र भारत दुवै सरकारका तर्फबाट यी घटनाहरूबीच प्रत्यक्ष सम्बन्ध रहेको औपचारिक पुष्टि भने गरिएको छैन