दाङ, असार ३ - सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा प्रहरीले युवतीमाथि खुकुरी देखाउँदै कुटपिट गर्ने युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति तुलसीपुर उपमहानगरपालिका–२ भमकेका २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनलाई मंगलबार राति आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा तुलसीपुरकै २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा उक्त भिडियो गत चैत महिनामा रातिको समयमा रमेशकै घर नजिक खिचिएको र पछि फेसबुकमार्फत सार्वजनिक गरिएको खुलेको प्रहरीले जनाएको छ। भिडियोमा रमेशले एक २१ वर्षीया युवतीलाई अश्लील गालीगलौज गर्दै खुकुरीको पछाडिको भागले प्रहार गरेको देखिएको छ।
प्रहरीले पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ।
यसैबीच पक्राउ परेका रमेशको साथबाट विभिन्न प्रकारका लागुऔषधसमेत बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनको साथबाट प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजेपाम ५ ट्याब्लेट गरी झण्डै ५० ट्याब्लेट बरामद भएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस