१७ असार २०८३ बुधबार | 01 Jul 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा मानव अधिकार आयोगले रास्वपासँग माग्यो स्पष्टीकरण



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या ३१
  • काठमाडौं, असार १७ - राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने सार्वजनिक समाचारप्रति चासो व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग यथाशीघ्र स्पष्ट विवरण मागेको छ।

    आयोगले बुधबार रास्वपालाई पत्राचार गर्दै बालबालिकालाई पार्टी सदस्य बनाइएको हो वा होइन भन्ने विषयमा विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र पार्टीको महाधिवेशनसँग सम्बन्धित प्रतिवेदनमा बालबालिकालाई सदस्यता दिइएको उल्लेख आएपछि आयोगले यस विषयमा औपचारिक जानकारी मागेको जनाएको छ।

    आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाइएको पुष्टि भए त्यस्तो कार्य प्रचलित कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग मेल नखाने उल्लेख गरिएको छ।

    राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम आयोगले रास्वपासँग यथाशीघ्र तथ्यगत विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। आयोगले प्राप्त जवाफका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।