२२ असार २०८३ सोमबार | 06 Jul 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

खड्काको नेतृत्वमा कांग्रेस इतर समूहको छुट्टै कार्यालय, संगठनात्मक गतिविधि तीव्र बनाइने



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या २७
  • काठमाडौं, असार २२ - नेपाली कांग्रेसको संस्थापन इतर पक्षले संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित छुट्टै कार्यालय स्थापना गरेको छ। सोमबार आयोजित कार्यक्रममा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यालयको उद्घाटन गर्दै अब समूहले नियमित छलफल र कार्यक्रमलाई तीव्रता दिने संकेत गरेका छन्।

    कार्यालय उद्घाटनअघि बसेको नेताहरूको बैठकमा खड्काले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनले शेखर कोइरालासहित आफ्नो समूहमा हाल १११ जना रहेको र सोही आधारमा केन्द्रीय कार्यसमितिमा समायोजनको प्रस्ताव अघि सारिएको जानकारी दिएका थिए।

    खड्काले सातबुँदे प्रस्तावको लिखित जवाफ उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइएको उल्लेख गर्दै त्यस विषयमा थप सहमतिको अपेक्षा गरिए पनि कुनै निष्कर्ष ननिस्किएको बताएका छन्। विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने विषयमा सहमति भएको जानकारी गराए पनि आफूले त्यसलाई स्वीकार नगरेको उनको भनाइ थियो।

    त्यसपछि शीर्ष नेताको सदस्यता स्वतः नवीकरण हुने विषयमा समाचार सार्वजनिक भएपछि कार्यकर्तामा अन्योल सिर्जना भएको भन्दै खड्काले आफूले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेको बताए। त्यसपछि कार्यकर्ताबाट आएका जिज्ञासासमेत कम भएको उनले जानकारी दिए।

    बैठकमा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू सहभागी थिए। खड्काले अब आगामी दुई–तीन दिन लगातार छलफल सञ्चालन गरिने र साउन ६ गते बीपी जयन्ती विशेष कार्यक्रमका साथ मनाइने तयारी भइरहेको जानकारी दिएका छन्।