धनगढी, साउन ७ - चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका विषयमा लामो समयदेखि आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले आज (बिहीबार) देखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। उनले दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन सुरु गर्ने कार्यक्रम तय गरेका छन्।
डा. केसीले सरकारले विगतमा भएका सम्झौता र सहमति कार्यान्वयन नगरेको तथा पटक–पटक उठाइएका मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनका अनुसार सरकारले माग सम्बोधनका लागि साउन ५ गतेसम्म समय मागे पनि त्यस अवधिमा कुनै ठोस निर्णय नगरेपछि पुनः आन्दोलनको बाटो रोज्नुपरेको हो।
डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार सरकारले समयसीमाभित्र कुनै सकारात्मक पहल नगरेकाले सत्याग्रह सुरु गर्नुको विकल्प नरहेको निष्कर्षमा उनी पुगेका हुन्। आन्दोलनअघि डा. केसीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्लामा पुगेर स्थानीयसँग छलफल गरेका थिए।
बुधबार सार्वजनिक विज्ञप्तिमार्फत डा. केसीले नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासनका लागि आफूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका छन्। मागप्रति सरकार गम्भीर नबने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनी पनि उनले दिएका छन्।
यसपटकको सत्याग्रहमा उनले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत सुधारलाई मुख्य एजेन्डा बनाएका छन्। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा कानुनविपरीत गरिएको भनिएका नियुक्ति खारेज गर्नुपर्ने, सम्बन्धित कानुनका विवादित प्रावधान संशोधन गर्नुपर्ने तथा नियुक्तिमा राजनीतिक हस्तक्षेप र स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको प्रमुख माग रहेको छ।
प्रतिक्रिया दिनुहोस