काठमाडौं, साउन ७ - त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहका क्रममा शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्। कीर्तिपुरस्थित कार्यक्रममा पुगेका मन्त्रीको विरोध गर्दै प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनका क्रममा नाराबाजी गरिरहेका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले विश्वविद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप अन्त्य गर्न, योग्यताको आधारमा नियुक्ति हुने मेरिटोक्रेसी प्रणाली लागू गर्न र उच्च शिक्षामा पारदर्शिता कायम गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले विश्वविद्यालयको संरचनात्मक व्यवस्थामाथि पनि प्रश्न उठाएका छन्। उनीहरूको मागअनुसार विश्वविद्यालयहरूको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री रहने विद्यमान व्यवस्था खारेज गरी स्वतन्त्र र व्यावसायिक नेतृत्वको व्यवस्था गर्नुपर्ने बताएका छन्।
घटनाका क्रममा केहीबेर कार्यक्रमस्थलको वातावरण तनावग्रस्त बने पनि सुरक्षा व्यवस्था कडा पारिएपछि समारोह भने निर्धारित कार्यक्रमअनुसार अघि बढाइएको थियो। पक्राउ परेका युवामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस