२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाको कडा निर्देशन: आफन्तलाई स्वकीय सचिव बनाउन नपाइने



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ५९
  • काठमाडौं, साउन ८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई स्वकीय सचिव नियुक्तिसम्बन्धी स्पष्ट आन्तरिक मापदण्ड लागू गर्दै नातावाद र परिवारवाद अन्त्य गर्ने नीति अघि सारेको छ। पार्टीले सांसदहरूलाई आफ्नै परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको हो।

    महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी गरिएको आन्तरिक निर्देशनअनुसार स्वकीय सचिव छनोट पारिवारिक सम्बन्धका आधारमा नभई योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा हुनुपर्ने व्यवस्था गरिएको छ। पार्टीले यस्तो नियुक्ति खुला आह्वान वा प्रतिस्पर्धात्मक प्रक्रियामार्फत मात्रै गर्नुपर्ने उल्लेख गरेको छ।

    निर्देशनमा स्वकीय सचिव बन्न चाहने उम्मेदवारले संघीय संसद् सचिवालयले निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता अर्थात् स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको छ। साथै अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप र पार्टीका सिद्धान्त तथा मूल्यप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिने नीति अपनाइएको छ।

    रास्वपाले योग्य महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका उम्मेदवारलाई अवसर दिने व्यवस्था पनि गरेको छ। यसबाट समावेशी प्रतिनिधित्वलाई थप बल पुग्ने विश्वास पार्टीको छ।

    त्यसैगरी, नियुक्त हुने स्वकीय सचिव अन्य कुनै पूर्णकालीन रोजगारीमा संलग्न हुन नपाउने र एकभन्दा बढी स्रोतबाट आर्थिक सुविधा लिन नपाइने स्पष्ट गरिएको छ। सांसदको जिम्मेवारीसँग स्वार्थ बाझिने कुनै गतिविधिमा संलग्न हुन नहुने प्रावधान पनि निर्देशनमा समेटिएको छ।

    पार्टीले यो व्यवस्थामार्फत पारदर्शिता, सुशासन र योग्यतामा आधारित नियुक्ति प्रणालीलाई संस्थागत गर्दै राजनीतिक नियुक्तिमा देखिने नातावाद र परिवारवादको अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्य राखेको जनाएको छ।