२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आफूमाथि कुटपिट गर्नेविरुद्ध कलाकार अशोक दर्जीको प्रहरीमा उजुरी, दोषीमाथि कारबाहीको माग



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६९
  • काठमाडौं, साउन ११ - कलाकार तथा गायक अशोक दर्जीले आफूलाई कुटपिट तथा धम्की दिएको आरोप लगाउँदै संलग्न व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।

    दर्जीले झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा अंकित प्रधानसहित दुई जनाविरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्।

    केही समयअघि सामाजिक सञ्जालमा अशोक दर्जीलाई पैसा माग्दै कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि उक्त घटना व्यापक चर्चामा आएको थियो। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दोषीमाथि कडा कारबाहीको माग उठेको थियो।

    प्रहरीमा दर्ता गरिएको उजुरीअनुसार उक्त भिडियो करिब एक महिनाअघि नै खिचिएको थियो। दर्जीले पटक–पटक भिडियो सार्वजनिक नगर्न र हटाइदिन आग्रह गरे पनि आरोपितहरूले बेवास्ता गर्दै अन्ततः सामाजिक सञ्जालमा सार्वजनिक गरेको उल्लेख गरेका छन्। साथै, भिडियोलाई आधार बनाएर आफूलाई निरन्तर धम्कीसमेत दिइएको उनको दाबी छ।

    फिल्म निर्मात्री नीता ढुंगानाले अशोक दर्जीले दिएको उजुरीको प्रतिलिपि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै कलाकारमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेकी छन्। दर्जीले निर्माणाधीन नेपाली फिल्म ‘पार्वती’ मा पनि अभिनय गरेका छन्।

    बालगायक तथा कलाकारका रूपमा परिचित अशोक दर्जी हाल झापास्थित आफ्नै घरमा बस्दै आएका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।