झापा, साउन १२ - झापाको मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छन्। घटनापछि उनका श्रीमान् सम्पर्कविहीन बनेका छन् भने प्रहरीले खोजी र अनुसन्धानलाई तीव्र बनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेकी छन्। उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएका थिए। दुवै जना गत वैशाखदेखि उक्त विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए।
विद्यालय सञ्चालनका लागि सोमबार शिक्षकहरूलाई सम्पर्क गर्ने क्रममा दुवै जना सम्पर्कमा नआएपछि विद्यालय प्रशासन उनीहरू बस्ने कोठामा पुगेको थियो। कोठामा बाहिरबाट ताला लगाइएको अवस्थामा भेटिएपछि थप शंका उत्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार त्यसपछि रतन गुप्ताले वाट्सएपमार्फत सन्देश पठाउँदै श्रीमतीले आत्महत्या गरेको दाबी गरेका थिए। उनले श्रीमतीलाई झुन्डिएको अवस्थामा भेटेको, शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट हिँडेको उल्लेख गर्दै विद्यालय प्रशासनलाई कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए।
यसैबीच स्थानीय बासिन्दाले गुप्तालाई आइतबार साँझ दुईवटा झोला बोकेर विद्यालय परिसरबाट बाहिरिएको देखेको बताएका छन्। त्यसयता उनी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाएको छ। प्रहरीका अनुसार मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्र खुल्नेछ। साथै सम्पर्कविहीन रहेका रतन गुप्ताको खोजी कार्य पनि तीव्र रूपमा अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस