काठमाडौं, साउन १२ - लघुवित्त संस्थाबाट आफूहरू अन्यायमा परेको दाबी गर्दै आन्दोलनरत लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनसन सुरु गरेका छन्।
देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरू लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपाल को नेतृत्वमा आन्दोलनमा सहभागी भएका हुन्। उनीहरूले लघुवित्त संस्थाहरूले लिएको उच्च ब्याजदर, ऋण असुलीका क्रममा हुने मानसिक दबाब तथा आर्थिक शोषणका कारण हजारौं परिवार गम्भीर समस्यामा परेको बताएका छन्।
आन्दोलनमा सहभागीहरूको भनाइ अनुसार लघुवित्तका कर्मचारीहरू घर–घर पुगेर ऋण असुलीका नाममा मानसिक तनाव दिने गरेको आरोप छ। सरकारसँग पटक–पटक वार्ता भए पनि आफ्ना मागहरूको ठोस सम्बोधन नभएकाले बाध्य भएर राजधानी केन्द्रित आन्दोलन र आमरण अनसन सुरु गर्नुपरेको उनीहरूको भनाइ छ।
रौतहटबाट आन्दोलनमा सहभागी शिलम यादवले सरकारले अब पनि मागप्रति बेवास्ता गरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिइन्। पीडितहरूले आफ्ना माग पूरा नभएसम्म माइतीघरमा आन्दोलन र प्रदर्शनलाई निरन्तरता दिने अडान व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस