काठमाडौं, साउन १५ - काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाइएपछि प्रभावित भएका बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन सरकारले आवश्यक व्यवस्था मिलाएको जनाएको छ। शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहुने गरी वैकल्पिक व्यवस्था गरिएको बताएका हुन्।
शुक्रबार राष्ट्रियसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीलाई नजिकका विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययन सुरु गराइएको जानकारी दिए।
उनका अनुसार बालाजु क्षेत्रका दुई विद्यालयका २७० जना विद्यार्थीलाई अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ। त्यसैगरी, कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा आश्रय लिइरहेका १० जना बालबालिकाका लागि आवासीय सुविधा र पूर्ण छात्रवृत्तिसहित अध्ययनको व्यवस्था गरिएको छ।
खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना विद्यार्थीलाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइएको मन्त्री पोखरेलले बताए। ती विद्यार्थीलाई विद्यालय आउजाउका लागि सवारी सुविधा, पोसाक, झोला, स्टेशनरी, खाजा, पानीको बोतल, सरसफाइ सामग्री तथा खेलकुद सामग्रीसमेत उपलब्ध गराइएको छ।
मन्त्री पोखरेलले गत असार २९ गते खरिपाटी र बोडे होल्डिङ सेन्टरको अनुगमन गरी बालबालिकाको शिक्षा र आवश्यक सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको जानकारी दिए। उनले प्रभावित परिवारका बालबालिकाको शैक्षिक भविष्य सुरक्षित राख्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस