काठमाडौं, साउन १६ - नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पार्दै ग्यास अभाव भएको भन्ने प्रचारप्रति उपभोक्तालाई भ्रममा नपर्न आग्रह गरेको छ। निगमले दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ भने आवश्यकताभन्दा बढी ग्यास खरिद वा भण्डारण नगर्न सबै उपभोक्तालाई अनुरोध गरेको छ।
निगमका अनुसार ३१ असारमा गरिएको निर्णयअनुसार १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको बिक्री–वितरण प्रणाली लागू भएसँगै केही स्थानबाट ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो आएको थियो। त्यसपछि ग्यास उद्योगहरूलाई बजारमा नियमित आपूर्ति सुनिश्चित गर्न र घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिइएको छ। विक्रेतालाई खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राख्नसमेत आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा केही ग्यास उद्योगको माग अत्यधिक बढेकाले निगमले १६ साउनदेखि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरणको अतिरिक्त व्यवस्था गरेको जनाएको छ।
निगमले बजारमा एलपी ग्यासको आयात र वितरण नियमित रूपमा भइरहेकाले अभावको हल्लामा विश्वास नगर्न आग्रह गर्दै, कार्यालय समयमा ग्यास प्राप्त नभए हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई अनुरोध गरेको छ। साथै, कृत्रिम अभाव सिर्जना हुन नदिन आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न पनि सबैमा अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस