२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अवैध नगदको आशंकामा उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा प्रहरीको खानतलासी



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ७३
  • विराटनगर, साउन १८ - अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित सूचनाका आधारमा मोरङ प्रहरीले उद्योगी तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा सोमबार बिहान व्यापक खानतलासी गरेको छ। करिब पाँच घण्टासम्म चलेको खोजतलासपछि प्रहरीले कुनै पनि शंकास्पद वस्तु वा रकम फेला नपारेको जनाएको छ।

    मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विशेष सूचनाका आधारमा बिहान साढे ४ बजेदेखि प्रहरी टोली परिचालन गरिएको थियो। घरदेखि कार्यालयसम्म सबै स्थानमा विस्तृत खोजी गरिए पनि अवैध नगद वा अन्य आपत्तिजनक सामग्री नभेटिएपछि टोली रित्तो हात फर्किएको उनले जानकारी दिए।

    चाँदी व्यवसायमा सक्रिय मुन्दडामाथि अवैध नगद र हुन्डी कारोबारसँग सम्बन्धित रकम लुकाएको आशंकापछि प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै खानतलासी गरेको जनाएको छ। तर प्रारम्भिक अनुसन्धानका क्रममा उक्त आशंकालाई पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ।

    यता देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले पुर्जी देखाएर कानुनी प्रक्रियाअनुसार खानतलासी गरेको र परिवारले पूर्ण सहयोग गरेको बताए। उनका अनुसार घर र कार्यालयका सबै स्थानमा खोजी गरेपछि कुनै पनि आपत्तिजनक वस्तु नभेटिएकाले प्रहरी टोली बिना कुनै बरामद रित्तै फर्किएको छ।