गोरखा, साउन २१ - अविरल वर्षापछि गोरखाका दुई स्थानमा गएको पहिरोले पेट्रोल पम्प र एक घरमा क्षति पुर्याएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
बिहीबार बिहान करिब ६ बजेतिर गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्पको पछाडिबाट पहिरो खस्दा पम्पमा जडान गरिएको डिस्टेन्सर मेसिन पुरिएको छ। साथै त्यही क्षेत्रमा पार्किङ गरेर राखिएका पाँचवटा मोटरसाइकल पनि पहिरोमा पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा पहिरो हटाउने तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ।
यस्तै, बुधबार राति पालुङटार नगरपालिका–१ कोलकोटेमा लेदोसहित आएको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। भूकम्पपछि निर्माण गरिएको उक्त घर बस्न नमिल्ने अवस्थामा पुगेपछि परिवार पुरानै घरमा सरेर बसिरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ भने प्रभावित क्षेत्रमा थप जोखिमको अवस्था मूल्याङ्कन गर्ने काम जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस