२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘युवालाई रोजगारी देऊ, सैन्य क्याडर होइन’ : अमरेशकुमार सिंह



  • अञ्जना ढकाल
  • ६ दिन अघि
  • पाठक संख्या ६१
  • काठमाडौं, साउन २१ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले शिक्षा, स्वास्थ्य, विज्ञान–प्रविधि र रोजगारीभन्दा सुरक्षा संयन्त्र विस्तारलाई प्राथमिकता दिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

    प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै उनले मुलुकको दीर्घकालीन विकासका लागि शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने धारणा राखे। उनका अनुसार सरकारले नयाँ सुरक्षा संरचना विस्तार गर्नुभन्दा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने नीति लिनुपर्छ।

    सांसद सिंहले नेपालमा जनसंख्याको अनुपातमा सुरक्षाकर्मीको संख्या अत्यधिक रहेको दाबी गर्दै मधेश क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिबारे समेत प्रश्न उठाए। उनले मधेशबाट सशस्त्र प्रहरी फिर्ता गर्न माग गर्दै सुरक्षा संयन्त्रको परिचालनबारे संसद्को सम्बन्धित समितिमा विस्तृत छलफल हुनुपर्ने बताए।

    उनले विगतका मधेश, थरूहट तथा अन्य आन्दोलनहरूमा सुरक्षा बलको प्रयोगले मधेशी, जनजाति, दलित र थारू समुदायमाथि दबाब सिर्जना गरेको आरोप लगाए। यस्तो अवस्थाले समुदाय विशेषमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनको भनाइ थियो।

    राष्ट्रियताको विषयमा बोल्दै सिंहले वास्तविक राष्ट्रप्रेम भनेको युवालाई विदेश पलायन हुनबाट रोक्दै स्वदेशमै सम्मानजनक रोजगारी उपलब्ध गराउनु भएको बताए। अहिले पनि धेरै नेपाली युवा मलेसिया, कतार र साउदी अरबलगायतका मुलुकमा रोजगारी खोज्न बाध्य भइरहेका बेला सैन्य स्वरूपका संरचना विस्तार गर्नु उचित नहुने उनको तर्क थियो।

    सिंहले आन्दोलनका बेला सधैं गरिब र विपन्न वर्गका नागरिकले मात्र पीडा भोग्नुपरेको उल्लेख गर्दै नेतृत्व तहका व्यक्तिका सन्तान कहिल्यै त्यस्तो अवस्थाबाट गुज्रिनु नपरेको टिप्पणी गरे। साथै, सुरक्षा निकायको पछिल्लो गतिविधि, परिचालन र यसको आवश्यकताबारे राज्य व्यवस्था समितिमा गम्भीर समीक्षा गर्न पनि उनले सरकारसँग माग गरेका छन्।