काठमाडौं, साउन २२ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको पुनःनिर्माणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट स्वीकार नगर्ने निर्णय गरेका छन्। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउँदै उक्त रकम फिर्ता लैजान आग्रह गरेका हुन्।
गत वर्ष जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको कोइराला निवास पुनःनिर्माणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत २ करोड रुपैयाँ छुट्याएको थियो। तर डा. कोइरालाले व्यक्तिगत रूपमा सरकारी रकम लिन नैतिक रूपमा उचित नहुने भन्दै बजेट अस्वीकार गरेका छन्।
पत्रमा उनले कोइराला निवास नेपाली लोकतान्त्रिक आन्दोलन, राजनीतिक चेतना र राष्ट्रिय इतिहासको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्दै यसको महत्व कुनै भवनमा सीमित नभई विचार, संघर्ष र जनविश्वाससँग जोडिएको बताएका छन्।
उनले बीपी कोइरालाले देखाएको सामाजिक न्याय, लोकतन्त्र र जनकल्याणको मार्गलाई राज्यले व्यवहारमा लागू गर्नु नै उहाँप्रतिको वास्तविक श्रद्धाञ्जली हुने धारणा व्यक्त गरेका छन्। सरकारले जनताको हितमा प्रभावकारी काम गर्नु नै कोइराला परिवारप्रतिको सम्मान हुने उनको भनाइ छ।
गत भदौ २४ गते विराटनगर–७ स्थित ऐतिहासिक कोइराला निवास जेन–जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको थियो। त्यसपछि सरकारले यसको पुनःनिर्माणका लागि बजेट विनियोजन गरेको भए पनि डा. कोइरालाले उक्त सहयोग नलिने निर्णय गरेका छन्।
प्रतिक्रिया दिनुहोस