काठमाडौं, साउन २५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य हरि ढकालले सिंहदरबारको नाम परिवर्तनसम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनाप्रति स्पष्टीकरण दिएका छन् ।
ढकालले आफूले तत्काल सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ भनेर नभनेको दाबी गर्दै विगतमा परिवर्तनका क्रममा नै नाम परिवर्तन गरिएको भए उपयुक्त हुने धारणा मात्र व्यक्त गरेको बताएका छन् । आफ्नो लामो अभिव्यक्तिबाट एउटा अंश मात्रै काटेर हेडलाइन बनाइएको र त्यसकै आधारमा आफूलाई आलोचना गरिएको उनको गुनासो छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले सिंहदरबार निर्माणसँग जोडिएको इतिहासलाई समेत बहसमा ल्याउनुपर्ने बताए । उनका अनुसार सिंहदरबार तत्कालीन शासकको व्यक्तिगत निवासका रूपमा निर्माण गरिएको थियो र त्यसका लागि राज्यकोषको रकम खर्च भएको थियो ।
उनले सिंहदरबार निर्माणका क्रममा ठूलो संख्यामा मजदुरमाथि श्रम शोषण भएको दाबीसमेत गरे । करिब १५ हजार मजदुरलाई निकै न्यून पारिश्रमिकमा काम लगाइएको र उनीहरूलाई ज्यालाको सट्टा एक छाक भात दिएर श्रम गराइएको उनको भनाइ छ । व्यक्तिगत घर निर्माणका लागि सेनाको समेत प्रयोग गरिएको उनले बताए ।
ढकालले सिंहदरबारको नामकरण पनि कुनै औपचारिक प्राज्ञिक वा सार्वजनिक बहसबाट नभएको तर्क गरे । उनका अनुसार तत्कालीन दरबार तथा शासकीय संरचनासँग जोडिएको परिवेशमा ‘सिंहदरबार’ नाम प्रचलनमा आएको हो । ‘सिंह’ शब्दले शासकीय शक्ति, घमण्ड र हिंसात्मक भाव झल्काउने भएकाले राज्यको वर्तमान चरित्रसँग त्यसको सम्बन्धबारे बहस गर्न सकिने उनको धारणा छ ।
उनले सिंहदरबारलाई केवल भवनका रूपमा नभई राज्य र नागरिकबीचको सम्बन्धको प्रतीकका रूपमा हेर्नुपर्ने बताए । राज्यको केन्द्रमा पहुँच नपुगेका सीमान्तकृत समुदायको अवस्था अझै कमजोर रहेको उदाहरण दिँदै उनले चेपाङ समुदायको सडक, पोषण र जीवनस्तरको समस्या समाधान हुन नसक्नु राज्यको पहुँचमा रहेको असमानताको उदाहरण भएको बताए ।
ढकालले आफूले लामो समयदेखि अध्ययन गरेको विषयलाई आधार बनाएर धारणा राखेको स्पष्ट पारे । सांसद बन्नुभन्दा पहिल्यै सिंहदरबार निर्माणको इतिहासबारे पढेको उल्लेख गर्दै उनले आफ्नो करिब २३–२४ मिनेट लामो अभिव्यक्ति पूरा सुनेर मात्रै प्रतिक्रिया दिन आग्रह गरे ।
उनले भने, ‘एउटा टुक्रा काटेर बनाइएको हेडलाइन र त्यसकै आधारमा गरिएका आलोचनाले लुकाइएका इतिहास मेटिँदैनन् ।’ आफ्नो अभिव्यक्तिको मूल आशय बुझ्न सिंहदरबार निर्माणसँग जोडिएका ऐतिहासिक तथ्य अध्ययन गर्न पनि उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस