९ पुष २०८१ मंगलबार | 24 Dec 2024 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ताप्लेजुङमा कुकुरले आक्रमण गर्दा ३ बालबालिका सहित ६ जना घाईते



  • सिमोन भट्टराई
  • ९ महिना अघि
  • पाठक संख्या ३१६
  • ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा कुकुरको आक्रमणबाट ६ जना घाइते भएका छन् । आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा एक स्थानीयले पालेको कुकुरले आक्रमण गरेर तीन बालबालिकासहित ६ जनालाई घाइते बनाएको हो ।

     

    वडाध्यक्ष लक्षुमन राई (ललित) का अनुसार बालबालिकासहित तीन पुरुष र तीनजना महिलालाई कुकुरले आक्रमण (टोकेर) गरेर घाइते बनाएको छ । कुकुरको आक्रमणबाट घाइते हुनेमा वडासदस्य सञ्जु आङ्बुहाङसहित वडा–५ चाँगेका तीनजना, वडा–४ का दुई र मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका एकजना रहनुभएको छ । उहाँहरूलाई शनिबार बेलुका र आइतबार दिउँसो कुकुरको आक्रमण गरेको वडाध्यक्ष राईले बताउनुभयो । कुकुरको आक्रमणबाट घाइते भएकाले जिल्ला अस्पताल ताप्लेजुङ पुगेर उपचार तथा रेबिजविरुद्धको खोप सेवा लिएका छन् । 

     

    कुकुरले टोकेर अनुहारमा गम्भीर चोट लागेका एक बालकलाई भने थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।   उहाँकाअनुसार उक्त कुकुरले गाउँका अन्य कुकुर, बङ्गुर, भैँसी लगायतका पशुचौपायालाई समेत आक्रमण गरेको छ । शङ्कास्पद लक्षणसहित गाउँमा आतङ्क मच्याएको कुकुर सोमबार मरेको पनि उहाँले जानकारी दिनुभयो । सो कुकुरमा रेविज लागेको हुनसक्ने आशङ्का गरिए पनि पुष्टि भने भइनसकेको बताइएको छ ।

     

    यता कुकुरले मानिस र पशुचौपायालाई आक्रमण गरेपछि वडा कार्यालयले आक्रमणमा परेका पशुचौपायालाई सोमबार खोप लगाई दिएको छ । पाँचथरको फिदिमबाट रेबिजविरुद्धको खोप रातारात ल्याएर आक्रमणमा परेका कुकुरसहितका पशुचौपायालाई लगाई दिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । उहाँकाअनुसार केही पशुचौपाया र सो कुकुर पालेको क्षेत्र वरिपरिका १८ वटा कुकुरलाई रेविजको खोप लगाइएको छ । शङ्कास्पद लक्षण देखिएको कुकुरले आक्रमणसहित आतङ्क मच्चाएकाले अबको दुई/तीन दिनभित्र वडाभरिका कुकुरलाई रेबिजविरुद्धको खोप दिने अभियान नै चलाउने तयारी भएको वडा कार्यालयले जनाएको छ ।