
काठमाडौँ जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि यसअघि ३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो। असोज ६ गते आइतबार पक्राउ परेका प्रसाईंलाई साइबर ब्यूरोले ३ दिन बाट बढाएर ७ दिनको समय मागेर अदालतमा पेस गरेको हो।
प्रसाईंविरुद्ध बिभिन्न मिडियामा चरित्र हत्या गर्नेगरी बोलेको आरोपमा जाहेरी दर्ता भएको थियो। सोही अन्तर्वार्ता प्रसारण गर्ने च्यानलका सञ्चालक जीवन पाण्डे र प्रस्तोता प्रकाशचन्द्र दाहाल भने फरार रहेका छन्।
प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक महिलाले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै जाहेरी दिएकी हुन्। यदि आरोप प्रमाणित भएमा, प्रसाईंलाई ५ वर्षसम्म कैद सजाय र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस