१८ जेठ २०८३ सोमबार | 01 Jun 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हराएकी युवती बोराभित्र मृत फेला, प्रहरीले थाल्यो गहन अनुसन्धान



  • अञ्जना ढकाल
  • १३ घण्टा अघि
  • पाठक संख्या ४०
  • झापा, जेठ १८ - दमक नगरपालिका–८ बसन्त टोलकी २१ वर्षीया रमा तिवारी मृत अवस्थामा फेला परेकी छन्। केही दिनअघि घरबाट सम्पर्कविहीन भएकी उनको शव शनिबार दमक–१० स्थित रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा भेटिएको हो।

    प्रहरीका अनुसार रमा गत जेठ १३ गते राति करिब ९:३० बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले उनको खोजी गरिरहेकै क्रममा शनिबार बिहान खोलामुनि शंकास्पद अवस्थामा शव फेला परेको थियो।

    शवको पहिचान मृतकका बुबा नारायण तिवारी र आमा मुना तिवारीले गरेका हुन्। प्रारम्भिक अनुसन्धानका आधारमा उनको हत्या अन्यत्रै गरी शव खोलामा ल्याएर फालिएको हुन सक्ने प्रहरीको अनुमान छ।

    जिल्ला प्रहरी कार्यालय झापाले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा हत्याको कारण खुलाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    युवतीको शव बोराभित्र भेटिएपछि स्थानीयवासी समेत स्तब्ध बनेका छन्। घटनाबारे थप तथ्य र प्रमाण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।