२५ जेठ २०८३ सोमबार | 08 Jun 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिरहामा जफत मोबाइल नष्ट गरिएको विरोधमा विद्यार्थी आन्दोलनको घोषणा



  • अञ्जना ढकाल
  • १३ घण्टा अघि
  • पाठक संख्या ४२
  • सिरहा, जेठ २४ - एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाच नष्ट गरिएको विषयलाई लिएर सिरहाका विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले मोबाइलको उचित क्षतिपूर्ति, विद्यार्थीमाथिको दमनको अन्त्य तथा पीडितलाई न्याय दिन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने भएका हुन्।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार प्रदर्शन दिउँसो १२ बजे सुरु हुनेछ। संयुक्त विद्यार्थी संगठनको ब्यानरमा आयोजना हुने उक्त विरोध कार्यक्रममा सम्पूर्ण विद्यार्थीलाई सहभागी हुन आह्वान गरिएको छ। प्रदर्शनको मुख्य नारा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ राखिएको छ।

    अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहले विद्यार्थीका जायज मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र दबाब सिर्जना गर्न प्रदर्शन गर्न लागिएको बताए।

    जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षाका क्रममा बरामद गरिएका करिब ५०० मोबाइल फोन र स्मार्टवाच नष्ट गरेको थियो। प्रशासनका अनुसार परीक्षाको मर्यादा कायम राख्न तथा भविष्यमा यस्ता उपकरणको दुरुपयोग रोक्न उक्त निर्णय गरिएको हो।

    बरामद सामग्रीमा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच रहेका थिए। प्रशासनले ती उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको जनाएको छ।

    मोबाइल नष्ट गर्न शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। समितिले मोबाइल र स्मार्टवाचलाई २४ घण्टा पानीमा डुबाएर प्रयोग गर्न नसकिने अवस्थामा पुर्‍याएपछि फुटाएर नष्ट गरेको जनाएको छ।

    यद्यपि, प्रशासनको उक्त कदमप्रति अभिभावक, कानुन व्यवसायी तथा विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै क्षतिपूर्ति र न्यायको माग गरिरहेका छन्।