बाके - प्रहरीहरु बदनाम, हाकिमको पैसा उठाउने, फाइदा दिलाउने र खुसी पार्नमै तल्लीन रहने गरेका छन् । उनीहरु आर्थिक लेनदेनमा मात्र केन्द्रित भएकाले बाँके जिल्लामा पछिल्ला दिनमा अपराधिक घटना बढिरहेका छन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरिक्षक उपेन्द्र बुढाथोकी र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख तुलबहादुर कार्कीसँग सम्पर्क खोज्दा सम्पर्क हुन सकेन । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज भर्खरै सरुवा भई आएकाले उनका गतिविधिबारे जानकार नरहेको पनि जमुनाहा प्रहरी स्रोतले बतायो ।
घुमुवा प्रहरी आतंक वडा प्रहरी कार्यालय नेपालगन्जमा बढिरहेको छ । लामो समयदेखि वडा प्रहरी कार्यालय नेपालगन्ज मातहत घुमुवा प्रहरीका रुपमा काम गरिरहेका हुसेन नाम गरेका प्रहरी हवल्दार र प्रहरी जवानद्वय पुष्प भुजेल र मञ्जु यादवको कार्यशैली पनि घुमुवा प्रहरीको उद्देश्यभन्दा ठीक विपरित रहेको कार्यालय स्रोतको भनाई छ ।
सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् । इञ्चार्जसमक्ष पैसा पुर्याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । घुमुवा प्रहरी विशेषतः बाँके जिल्लामा बढी सक्रिय देखिन्छन् ।
सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् । घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । जिल्ला प्रहरी कार्यालयमा एक दर्जन बढी घुमुवा राखिएको बताइन्छ । कतिपयमा कार्यालयमा असईको कमाण्डमा उनीहरुलाई राखिएको छ भने कतिपय जिल्लामा भने प्रहरी निरीक्षकको कमाण्डमा पनि घुमुवा खटाइएका छन् ।
केही घुमुवा प्रहरी एउटै प्रहरी अधिकारीको वरिपरि घुमेको पनि देखिन्छन् । अर्थात्, हाकिमको जताजता सरुवा हुन्छ, उनीहरु पनि उतैउतै जान्छन् । कतिपयको हकमा भने यो लागूहुँदैन । उनीहरुको जागिर जुन जिल्लाबाट सुरु भएको छ, त्यहीँबाट अवकाश भएका उदाहरणहरु पनि प्रशस्तै छन् । कहाँ-कहाँबाट रकम उठाउने गरिएको छ भन्ने उनीहरुलाई थाहा हुने भएकाले पनि घुमुवालाई सामान्य अवस्थामा सारिँदैन ।
प्रतिक्रिया दिनुहोस