काठमाडौं, वैशाख ११ - सिन्धुलीमा युवकको हिरासत मृत्यु प्रकरणमा न्यायको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जिल्ला प्रशासन कार्यालयको गेटमा रातभर धर्ना दिएका छन्। खगेन्द्र सुनारसहितका सांसदहरू बिहीबार साँझदेखि निरन्तर धर्नामा बसेका हुन्।
धर्नामा खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा र आशिष गजुरेललगायत सहभागी छन्। उनीहरूसँगै स्थानीयवासी र बुद्धिजीवी पनि आन्दोलनमा उत्रिएका छन्।
यो आन्दोलन सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको हो। परिवारले प्रहरीको कुटपिटका कारण मृत्यु भएको आरोप लगाउँदै आएको छ।
प्रहरीका अनुसार भने श्रीकृष्ण हिरासतभित्रै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेका थिए। अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घटनापछि पीडितका आफन्तहरू चार दिनदेखि प्रदर्शनमा छन्। उनीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शवसमेत बुझ्न अस्वीकार गरेका छन्।
यसैबीच प्रशासनले घटनाको छानबिन गर्न समिति गठन गरिसकेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएका छन्।
श्रीकृष्णलाई ललितपुरबाट पक्राउ गरी अनुसन्धानका लागि सिन्धुली पठाइएको थियो। उनीमाथि नाबालिगसँग सम्बन्धित आरोप लागे पनि परिवारले भने अन्तरजातीय प्रेम विवाहका कारण मुद्दा बनाइएको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस