१० बैशाख २०८३ बिहिबार | 23 Apr 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा वायु प्रदूषण खतरातर्फ, एक्युआई ‘निकै अस्वस्थ’ स्तरमा



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या २८
  • काठमाडौं, वैशाख १० - काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार झनै गम्भीर बन्दै ‘निकै अस्वस्थ’ स्तरमा पुगेको छ । धुवाँ र धुलोले भरिएको वातावरणका कारण सर्वसाधारणले खुला रूपमा सास फेर्न समेत कठिनाइ महसुस गर्न थालेका छन् ।

    अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार बिहीबार बिहान काठमाडौंको एक्युआई २४७ सम्म पुगेको थियो । पछि केही घटेर २१६ मा झरे पनि स्थिति अझै जोखिमपूर्ण नै रहेको छ ।

    एक्युआई २०१ देखि ३०० सम्म पुगेको अवस्थामा वायु गुणस्तरलाई निकै अस्वस्थ मानिन्छ, जसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । विशेषगरी बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी प्रभावित हुने विज्ञहरू बताउँछन् ।

    यसैबीच, नेपाल विश्वकै सबैभन्दा बढी प्रदूषित देशहरूको सूचीमा दोस्रो स्थानमा पुगेको छ भने पाकिस्तान पहिलो स्थानमा रहेको छ । काठमाडौं उपत्यकामा देखिएको बाक्लो तुवाँलोले दैनिक जीवन प्रभावित बनाएको छ ।

    सरकारले निर्धारण गरेको मापदण्ड अनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि पुगेमा खतरनाक अवस्था मानिन्छ ।