१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुकुमबासी बस्तीमा बल प्रयोग नगर्न नागरिक आन्दोलनको चेतावनी



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ४९
  • काठमाडौँ, वैशाख ११ - बृहत् नागरिक आन्दोलनले सुकुमबासी बस्तीहरू हटाउने सरकारी तयारीप्रति गम्भीर आपत्ति जनाउँदै बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएको छ। आन्दोलनले जबरजस्ती बस्ती खाली गराउने कदमले मानव अधिकार उल्लङ्घन हुने उल्लेख गरेको छ।

    बिहीबार जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीबाट सुरक्षा निकायलाई सिधा निर्देशन दिई सुकुमबासी बस्ती हटाउन खोजिएको भन्दै आन्दोलनले असन्तुष्टि व्यक्त गरेको छ। मन्त्रिपरिषद्ले अघि सारेको शासकीय सुधार कार्यसूचीमा भूमिहीन र सुकुमबासीको समस्या समाधान गर्ने प्रतिबद्धता भए पनि व्यवहारमा त्यसको विपरीत कदम चालिएको आरोप लगाइएको छ।

    विज्ञप्तिमा संविधानले प्रत्येक नागरिकलाई आवासको मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै उक्त अधिकारको संरक्षण नगरी बस्ती भत्काउने वा विस्थापन गर्ने कार्य अस्वीकार्य हुने स्पष्ट पारिएको छ। यस्तो कार्यले नागरिक अधिकारमाथि गम्भीर प्रहार हुने उल्लेख गरिएको छ।

    आन्दोलनले प्रमाणीकरण, पुनर्वास र सुरक्षित आवासको व्यवस्था नगरी गरिने कुनै पनि निष्कासन स्वीकार्य नहुने जनाएको छ। साथै, वैकल्पिक जीविकोपार्जनको सुनिश्चितता बिना गरिने कार्यले प्रभावित समुदायलाई थप समस्यामा पार्ने चेतावनी दिइएको छ।

    यस प्रकारका कदमले सामाजिक तनाव बढ्न सक्ने र सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने भन्दै आन्दोलनले संवेदनशील ढंगले समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ।