१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाका केहि नेता तथा कार्यकर्ताहरु प्रहरीको नियन्त्रणमा, कार्यक्रम प्रभावित

नेपाल हाउस क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरेपछि प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



RSP
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १४७
  • सभापति रवि लामिछानेको गिरफ्तारीको विरोधमा बालुवाटारमा प्रदर्शन गर्न भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेप्रति समर्थन जनाउँदै रास्वपाले आज बालुवाटारस्थित नेपाल हाउसमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। 

    नेपाल हाउस क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरेपछि प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल, र सवि खड्कासहित ११ जनालाई नियन्त्रणमा लिइएको छ।

    प्रदर्शनका लागि उपस्थित अन्य नेता–कार्यकर्ताहरुलाई प्रहरीले बालुवाटार क्षेत्रबाट बाहिर पठाइरहेको छ। निषेधाज्ञाको अवज्ञा गर्दै उनीहरूले "धरपकड विरुद्ध" नाराबाजी गरिरहेका छन्। आजको प्रदर्शनलाई रचनात्मक बनाउन रास्वपाले नारा, गीत, कविता, व्यंग्य, र मन्तव्य प्रस्तुत गर्ने तयारी गरेको थियो।

    उपसभापति डा. स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, र सांसद सोविता गौतमले प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम थियो भने, साढे २ बजेसम्म चल्ने प्रदर्शनको समापन उपसभापति डीपी अर्यालले गर्ने योजना थियो। तर, प्रहरीले हस्तक्षेप गरेपछि कार्यक्रम प्रभावित भएको छ।

    रास्वपाले सभापति लामिछानेको गिरफ्तारीलाई "राजनीतिक प्रतिशोध" को रूपमा व्याख्या गर्दै विरोध जारी राखेको छ। लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्।