कुवेत - कुवेतमा सफल व्यवसायी, युवा समाजसेवी तथा नेपाली समुदायका सक्रिय अभियन्ताका रूपमा परिचित उद्वव अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी पार्टीको केन्द्रीय महाधिवेशनमा उनले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै प्रवासमा आर्जित अनुभव, सीप र दक्षतालाई पार्टी तथा राष्ट्र निर्माणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपा प्रवास शाखा कुवेतका सचिवसमेत रहेका अधिकारी लामो समयदेखि कुवेतमा व्यवसाय, सामाजिक सेवा र संगठन निर्माणमा सक्रिय छन्। विशेषगरी प्रवासी नेपालीका समस्या, श्रमिक अधिकार, सुरक्षित वैदेशिक रोजगार तथा गैरआवासीय नेपालीहरूको सम्मानजनक प्रतिनिधित्वका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्। यही कारणले उनी प्रवासमा रहेका नेपाली समुदायका माझ परिचित र विश्वासिला नेतृत्वका रूपमा स्थापित भएका छन्।
यसपटकको महाधिवेशनमा उल्लेख्य संख्यामा प्रवासी प्रतिनिधिहरूको सहभागिता रहेको सन्दर्भमा अधिकारीको उम्मेदवारीलाई प्रवासको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपाल बाहिर बसेर पनि देशको राजनीतिक, सामाजिक तथा आर्थिक विकासमा प्रभावकारी योगदान दिन सकिन्छ भन्ने सन्देश उनको उम्मेदवारीले दिएको छ।
अधिकारीले सिद्धान्तनिष्ठ, पारदर्शी र उत्तरदायी नेतृत्वको आवश्यकतामाथि जोड दिँदै प्रवासबाट प्राप्त अनुभवलाई संगठन सुदृढीकरण, उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा उपयोग गर्ने स्पष्ट योजना अघि सारेका छन्। उनले प्रवासी नेपालीका मुद्दालाई पार्टीको नीति तथा निर्णय तहसम्म पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कुवेतसहित खाडी राष्ट्रहरूमा रहेका नेपाली समुदायबीच उनको उम्मेदवारीले सकारात्मक चर्चा र उत्साह सिर्जना गरेको छ। श्रमिकका समस्या बुझ्ने, प्रवासी नेपालीको भावना प्रतिनिधित्व गर्न सक्ने र व्यवहारिक अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्न सक्ने उम्मेदवारका रूपमा धेरैले उनलाई आशाका साथ हेरिरहेका छन्।
रास्वपाको नयाँ नेतृत्व चयनको महत्वपूर्ण घडीमा उद्वव अधिकारीको उम्मेदवारीलाई केवल एक व्यक्तिको राजनीतिक यात्रा नभई प्रवासमा रहेका लाखौं नेपालीहरूको आवाज, अनुभव र अपेक्षालाई केन्द्रीय नेतृत्वसम्म पुर्याउने अभियानका रूपमा समेत हेरिएको छ।
प्रतिक्रिया दिनुहोस