
स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४४ रिक्त पदका लागि आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ४४ पदका लागि कुल ४१० जनाले उम्मेदवारी दिएका छन्। मनोनयन दर्तापछि सोमबार उम्मेदवारहरूमाथि दाबी-उजुरी दिने प्रक्रिया हुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनिर्वाचनमा सीमित सहभागिता देखिएको छ। पार्टीले २६ स्थानमा मात्रै उम्मेदवारी दर्ता गरेको छ भने बाँकी १८ स्थानमा कुनै उम्मेदवारी दिएको छैन।
रास्वपाले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र जिल्ला समन्वय समितिका केही पदमा उम्मेदवारी नदिने निर्णय गरेको हो। काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पदका लागि उम्मेदवार टुंगो लागिसकेको भए पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिने निर्णय गर्दै मनोनयन दर्ता गरिएको छैन।
कीर्तिपुरकै वडा नम्बर १ र ४ को वडाध्यक्ष पदमा पनि पार्टीले उम्मेदवारी दिएको छैन। त्यस्तै, झापाको कन्काई नगरपालिका-६, ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुख, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुख र वडाध्यक्ष, रौतहट, रूकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ, दार्चुला र कैलालीका विभिन्न स्थानमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
रास्वपाले झापाको कन्काई नगरपालिका-६, रौतहटको इशनाथ वडा नम्बर ७, राजपुर वडा नम्बर ६ र गढीमाई वडा नम्बर ८, रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-५, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलालीको जिल्ला समन्वय समिति प्रमुख पदमा पनि उम्मेदवारी दिएको छैन।
रास्वपाले आफ्नो उम्मेदवारी सीमित राख्ने निर्णयको स्पष्ट कारण भने खुलाएको छैन। उपनिर्वाचन अन्तर्गत मनोनयन दर्तापछि सोमबार दाबी-उजुरी गर्ने कार्यतालिका रहेको छ। उम्मेदवारहरूको अन्तिम सूची प्रकाशनपछि आगामी मिति अनुसार मतदान प्रक्रिया सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस