धनुषाको बटेश्वर गाउँपालिका–३ मा मंगलबार राति भएको आगलागीले ठूलो क्षति पुर्याएको छ। रामकुमार महतोले सञ्चालन गरेको कुशवाहा जेनरल स्टोर्स र टपरी उद्योग जलेर नष्ट हुँदा करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
टपरी उद्योगमा तयार भएको लाखौंको टपरीसहित कच्चा पदार्थ र जेनरल स्टोर्समा रहेका पेपर प्लेट, पानी तथा चिया ग्लासलगायतका सामग्री जलेर नष्ट भएको पीडित महतोले जानकारी दिए।
आगलागी स्थानीय बासिन्दा, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए।
विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ भने क्षतिको यकिन विवरण संकलन गर्न मुचुल्का तयार पार्न बाँकी रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस