इलाम, असोज १९ - अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा गएको भीषण पहिरोले अहिलेसम्म २८ जनाको ज्यान लिएको छ । सशस्त्र प्रहरी बलले संकलन गरेको पछिल्लो विवरण अनुसार इलामका सात स्थानमा ठूलो मानवीय क्षति पुगेको हो ।
सूर्योदय नगरपालिका–१ मा पाँच जना, इलाम नगरपालिका–१ मा छ जना, देउमाइमा दुई जना, फाकफोकथुममा एक जना, मान्सेबुङमा तीन जना, माइजोगमाइमा आठ जना र सन्दकपुरमा तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार लगातारको वर्षाले पहाड भासिँदा घरहरू पूर्ण रूपमा पुरिएका छन् । घरभित्रै रहेका परिवारका सदस्यहरूलाई निकाल्न खोज्दा पनि समयमै उद्धार गर्न नसकिँदा ठूलो क्षति भएको बताइएको छ ।
सुरक्षा निकाय र स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि लैजाने काम भइरहेको छ ।
पहिचान भएका मृतकमध्ये सूर्योदय नगरपालिका–१ निवासी करिब ६० वर्षीय मनमाया क्षेत्री, ११ वर्षीया रश्मीका क्षेत्री, अन्दाजी ४० वर्षकी एक महिला र १५ वर्षकी एक बालिकाको मृत्यु भएको छ ।
त्यस्तै इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन, २३ वर्षीय विराज पाख्रिन, ३२ वर्षीया अनु तामाङ, ३२ वर्षीया प्रनिशिका मगर र ४ वर्षीय आरुष दनुवार पनि पहिरोमा ज्यान गुमाउनेमा परेका छन् ।
प्राकृतिक विपद्को यो घटनापछि इलाममा शोकको वातावरण छ । स्थानीय प्रशासनले सम्भावित जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस