२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

यूएईमा नयाँ भिजिट भिसा नीति : अब स्पोन्सरको न्यूनतम तलब ४ हजार दिराम हुनुपर्ने



  • एजेन्सीको सहयोगमा
  • १० महिना अघि
  • पाठक संख्या ३०३
  • काठमाडौं, असोज २० - संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसा (Visit Visa) का लागि नयाँ नियम लागू गरेको छ। अबदेखि आफन्त वा साथीलाई भिजिट भिसामा यूएई बोलाउन चाहनेले निश्चित तलब सीमा पूरा गर्नुपर्नेछ।

    यूएईको फेडेरल अथोरिटी फर आइडेन्टिटी, सिटिजनसिप, कस्टम्स एन्ड पोर्ट सेक्युरिटी (आईसीपी) ले लागू गरेको नयाँ व्यवस्थाअनुसार चार तहका स्पोन्सरको वर्ग तोकिएको छ — परिवारका सदस्य, विस्तारित परिवार र साथी (नन–रिलेटिभ) गरी।

    पहिलो तहमा बुबा–आमा, श्रीमान–श्रीमती र छोराछोरी पर्छन्। यिनीहरूलाई भिजिट भिसामा बोलाउन चाहनेको तलब कम्तीमा ४ हजार दिराम हुनुपर्नेछ।

    दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा–हजुरआमा, नाति–नातिनीहरू रहेका छन्। यिनीहरूका लागि ८ हजार दिराम तलब आवश्यक हुनेछ।

    तेस्रो तहमा काका–काकी, मामा–फुपु र कजिनहरू पर्छन्, जसका लागि पनि ८ हजार दिराम नै तोकिएको छ।

    साथी (नन–रिलेटिभ) लाई भिजिट भिसामा ल्याउन चाहनेको हकमा भने तलब कम्तीमा १५ हजार दिराम हुनुपर्नेछ।

    आईसीपीका अनुसार नयाँ नीति लागू गर्नुको उद्देश्य आर्थिक पारदर्शिता बढाउने, जिम्मेवार स्पोन्सर प्रणाली विकास गर्ने र यूएईमा योग्य र दक्ष व्यक्तिलाई आकर्षित गर्ने हो।

    अब भिसा आवेदन दिनेले ६ महिनाभन्दा बढी वैध राहदानी, फिर्ता यात्रा टिकट, र नाता प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ।

    नयाँ नियमअनुसार एक वर्षका लागि मानवीय बसोबास अनुमति पत्र पनि दिइनेछ, जसलाई विशेष अवस्थामा थप अवधि विस्तार गर्न सकिनेछ। यसले विधवा वा सम्बन्ध विच्छेद भएकी महिलालाई बिना स्पोन्सर यूएईमा बसोबास गर्न अनुमति दिनेछ।

    आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैली ले भने, “नयाँ भिजिट भिसा नीति यूएईको जीवनस्तर सुधार, व्यापार र पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुदृढ गर्न लक्षित छ।”