
स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। मतदान हुने ४८ घण्टा अघि सुरु भई मतगणना नभएसम्म कायम रहने यो अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रचारप्रसार गर्न र सभा, सम्मेलनजस्ता कार्यक्रम आयोजना गर्न निषेध गरिएको छ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत मत माग्न वा जित–हारको अनुमान गर्नसमेत रोक लगाइएको छ। उल्लङ्घन भएमा कडाइका साथ अनुगमन गरी कानुनी कारबाही गरिने निर्वाचन आयोगले चेतावनी दिएको छ।
आइतबार ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुनेछ। हालसम्म तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदमा मात्र मतदान हुनेछ। ओखलढुंगामा कांग्रेसका टेकराज भट्टराई, कैलालीमा टीकाकुमारी चौधरी, रुकुम पूर्वको पुथा उत्तरगंगामा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।
मतदानका लागि १६२ स्थल र २९३ केन्द्र तोकिएका छन्। कुल मतदाता २ लाख २६ हजार ७९९ छन्, जसमा पुरुष १ लाख १४ हजार ९००, महिला १ लाख ११ हजार ८९६ र अन्य ३ जना छन्।
प्रतिक्रिया दिनुहोस