नेकपा (एमाले) ले आज अपराह्न ४ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा हालै सम्पन्न स्थानीय तह उपनिर्वाचन र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समीक्षा हुनेछ।
मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा एमालेले अपेक्षाकृत परिणाम ल्याउन सकेन। कूल ४४ स्थानमा भएको उपनिर्वाचनमा एमालेले ८ स्थानमा मात्र विजय हात पारेको थियो। पार्टीले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, र पाँच वडा अध्यक्ष जित्न सफल भए पनि यसअघि जितेका सात स्थान गुमाएको छ।
एमालेको प्रारम्भिक विश्लेषणअनुसार उपनिर्वाचनको मुखमा प्रधानमन्त्री ओलीको नाम जोडेर कम्बोडियाको टेलिकममा लगानी रहेको भनी अफवाह फैलाइएको र व्यवसायी मीनबहादुर गुरूङबाट दान लिएको विषयलाई नकारात्मक रूपमा प्रचार गरिएकाले चुनावी परिणाम प्रभावित भएको बताइएको छ।
यस्तै, बैठकमा प्रधानमन्त्री ओलीको हालैको चीन भ्रमणबारे पनि छलफल हुनेछ। भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको फेमवर्कमा हस्ताक्षर हुनु एमालेले ठूलो उपलब्धिका रूपमा लिएको छ। चिनियाँ सहयोगका लागि बीआरआई अन्तर्गत सहकार्यको प्रारम्भिक सहमति भएको एमालेको दाबी छ।
बैठकले यी विषयहरूबारे विस्तृत छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस