१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जफत गरिएको रूसी सम्पत्तिबाट युक्रेनलाई अमेरिकी सहयोग

अमेरिकाले युक्रेनलाई जफत गरिएको रूसी सम्पत्तिबाट २० अर्ब अमेरिकी डलर ऋण सहायता उपलब्ध गराएको छ।



USA & Ukraine
  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या १५६
  • काठमाडौं – अमेरिकाले युक्रेनलाई जफत गरिएको रूसी सम्पत्तिबाट २० अर्ब अमेरिकी डलर ऋण सहायता उपलब्ध गराएको छ। अमेरिकी अर्थमन्त्री जेनेट यलेनका अनुसार उक्त रकम मंगलबार विश्व बैंकको ट्रस्ट फन्डमा जम्मा गरिएको छ, जहाँबाट युक्रेनले यो सहयोग प्राप्त गर्नेछ।

    रूसले युक्रेनमा आक्रमण गरेपछि जी७ र युरोपेली युनियनका देशहरूले रूसको करिब ३२५ अर्ब डलर सम्पत्ति रोक्का राखेका थिए। गत जुनमा इटालीमा भएको जी७ शिखर सम्मेलनले उक्त सम्पत्तिबाट ५० अर्ब डलर युक्रेनलाई सहायता दिने निर्णय गरेको थियो।

    त्यसअन्तर्गत अमेरिकाले २० अर्ब डलर सहयोग दिने प्रतिबद्धता जनाएको थियो। बाँकी ३० अर्ब डलरमध्ये युरोपेली युनियनले २० अर्ब र बेलायत, जापान, तथा क्यानडाले संयुक्त रूपमा १० अर्ब डलर ऋण सहायता प्रदान गर्नेछन्।

    यो गैरसैन्य ऋण विश्व बैंक ट्रस्ट फन्डमार्फत दिइएको हो। यो ऋण रोक्का गरिएको रूसी सम्पत्तिबाट हुने आम्दानीबाट तिरिने भएकाले युक्रेनले तिर्नुपर्ने छैन।

    युक्रेनले रूससँगको युद्ध सुरु भएयता ३०० अर्ब डलरभन्दा बढी सैन्य र आर्थिक सहायता प्राप्त गरिसकेको छ। अमेरिकाले सैन्य सहयोगमा बढी योगदान गरेको छ भने युरोपेली देशहरूले आर्थिक सहायता उपलब्ध गराएका छन्।

    यसबीच, हालै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने अमेरिकी सहायता कटौती गर्ने योजना रहेको बताएका छन्। उनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि रूस-युक्रेन युद्ध समाप्त गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्। ट्रम्पले जनवरी २० मा आफ्नो कार्यकाल सुरु गर्नेछन्।