२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कञ्चनपुरमा नक्कली विवाह प्रकरण: दुई जना पक्राउ

कञ्चनपुरमा फेसबुक मार्फत युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको भिसा लगाइदिने प्रलोभनमा नक्कली विवाह गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।



  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १८५
  • धनगढी, पुस ५ – कञ्चनपुरमा फेसबुक मार्फत युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको भिसा लगाइदिने प्रलोभनमा नक्कली विवाह गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी रहेका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमेशराज जोशीका अनुसार विष्णुप्रसाद मालीले ठकुल्ला थरकी युवतीलाई इन्जिनियर र अविवाहित भएको बताउँदै प्रेममा पारी २३ मंसिरमा महेन्द्रनगरको होटलमा विवाह गरेका थिए। मालीका भिनाजु जनकबहादुर धामीले विवाह गराउन सहजीकरण गरेका थिए।

    तर, विवाहपछि टिकटकमा सार्वजनिक भएको भिडियो मालीकी पहिलो श्रीमतीसम्म पुगेपछि प्रकरण खुलासा भएको हो। माली विवाहित रहेको थाहा पाएपछि पीडित युवतीका परिवारले बहुविवाहको उजुरी दिएका थिए।

    प्रहरीका अनुसार मालीले अमेरिकाको भिसा रहेको भन्दै युवतीलाई छिटो विवाह गर्न दबाब दिएका थिए। विवाहका क्रममा नक्कली परिवार खडा गरेर युवतीका परिवारलाई झुक्याइएको पाइएको छ।

    प्रहरीले मालीलाई डोटीको बुडरबाट र धामीलाई कञ्चनपुरबाट पक्राउ गरी बहुविवाह मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिएका छन्।