१७ असार २०८३ बुधबार | 01 Jul 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोलाको किनारमा मृत फेला



  • अञ्जना ढकाल
  • १ घण्टा अघि
  • पाठक संख्या ४९
  • धनगढी, असार १७ - कैलालीमा विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत मनिषा बिकको शव बुधबार बिहान स्थानीय रोरा खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार बिहान करिब पौने ११ बजे बालिकाको शव फेला परेको हो। उनी लम्कीचुहा नगरपालिका–४ अम्मरपुर निवासी विकास कामीकी छोरी हुन् र शिशु कक्षामा अध्ययनरत थिइन्।

    प्रहरीका अनुसार मंगलबार बिहान अभिभावकले उनलाई विद्यालयमा छाडेका थिए। विद्यार्थी संख्या कम भएकाले विद्यालयले सामान्य समयभन्दा अगावै बिदा दिएको थियो। त्यसपछि उनी एक्लै घर फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्।

    बालिका हराएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीसहित विभिन्न प्रहरी टोली परिचालन गरी खोजी अभियान सञ्चालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा अघिल्लो दिनको वर्षापछि बढेको रोरा खोलामा तर्ने क्रममा उनी बगेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।