काठमाडौं, असार १७ - देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सरकारले विपद् प्रतिकार्यलाई तीव्र बनाएको छ।
मौसम थप प्रतिकूल हुने पूर्वानुमानपछि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने सम्भावित विपद्का घटनामा तत्काल उद्धार गर्न आवश्यक जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राखिएको छ।
सशस्त्र प्रहरी बल (एपीएफ) ले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ भने अति जोखिमयुक्त १६ क्षेत्रमा विशेष तयारीसहित स्थायी बेस सञ्चालनमा राखिएको जनाएको छ। विपद्को सूचना सहज रूपमा प्राप्त गर्न ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप र १११४ हटलाइन सेवा पनि सञ्चालनमा ल्याइएको छ।
यसैबीच, नेपाली सेनाले बाढी–पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि तीन चरणको कार्ययोजना लागू गरेको छ। सेनाले इटहरी, सुर्खेत र काठमाडौंमा हवाई उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखेको छ भने धादिङ, चितवन र बारामा बेली ब्रिज तथा आपत्कालीन मेडिकल किटसहितका फिल्ड अस्पताल पनि तयारी अवस्थामा रहेको जनाएको छ।
सरकारले नागरिकलाई मौसमको आधिकारिक पूर्वानुमान नियमित रूपमा पछ्याउन, जोखिमयुक्त क्षेत्रमा सतर्क रहन तथा कुनै पनि विपद्को सूचना सम्बन्धित निकायमा तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस