८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

परराष्ट्रमन्त्री आरजु देउवाको भारतका निजी क्षेत्रलाई नेपालमा लगानीको आग्रह

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छिन्।



  • क्वालिटी खबर
  • ३ दिन अघि
  • पाठक संख्या ६४
  • नयाँ दिल्ली - परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छिन्।

    शुक्रबार नयाँ दिल्लीमा आयोजित नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सडक, रेलमार्ग, जलविद्युत्, केबलकार, विमानस्थल, कृषि, पर्यटन, र सूचना प्रविधि क्षेत्रमा लगानीका अवसरको लाभ उठाउन आह्वान गरिन्।

    उनले भारत नेपालका ठूला वैदेशिक लगानीकर्तामध्ये एक भएको उल्लेख गर्दै भारतीय निजी क्षेत्र र उद्यमीलाई नेपालमा सजिलै उपलब्ध हुने लगानी अवसरहरूको उपयोग गर्न प्रोत्साहन दिइन्।

    परराष्ट्रमन्त्री देउवाले नेपालका कृषि, पर्यटन, खेलकुद र सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफलको सम्भावना रहेको बताइन्। उनले भनेकी छिन्, “भारतका चेन होटलहरू नेपालमा आइसकेका छन्। साथै, नेपाल र भारतबीच क्रस-बोर्डर डिजिटल ट्रान्जेक्सनमा पनि उत्साहजनक प्रगति भएको छ।”

    पोखरा र लुम्बिनीका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भारतका निजी हवाई सेवा प्रदायकहरूसँग सहयोगको आग्रह गर्दै उनले भनेकी छिन्, “यी विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन हाम्रो छिमेकी र मित्र भारतको सहयोग आवश्यक छ।”

    परराष्ट्रमन्त्रीले नेपाल र भारतको आर्थिक सम्बन्ध मात्र नभएर जनस्तरमा रहेको सम्बन्धलाई अझ मजबुत बनाउने आवश्यकता रहेको बताइन्।

    नेपाल सरकारले विदेशी विमान कम्पनीहरूलाई प्रोत्साहन दिने योजना अघि सारेको जानकारी पनि उनले दिइन्।

    सम्मेलनमा भारतको नीति आयोगका सदस्य अरविन्द भिरमानी, फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयरका सीईओ डा. चरण सिंह, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्ले र भारतका लागि पूर्व नेपाली राजदूत डा. लोकराज बराल लगायत सहभागी थिए।

    यस सम्मेलनको आयोजना काठमाडौं विश्वविद्यालयको नेपाल सेन्टर अफ कन्टेम्पोररी स्टडिज र भारतको फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयरले गरेको हो।