१ माघ २०८१ मंगलबार | 14 Jan 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुबईमा सरसफाइको काम भनेर गाएकी महिला इराक पुग्दा

दुबईमा सरसफाइको काम भनेर घरबाट बिदा भएकी सञ्जिता इराक पुग्दा मात्र आफ्नो नियति थाहा पाइन्।



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या १३४
  • काठमाडौं, पुस २९ - धादिङकी ३५ वर्षीया सञ्जिताले चार वर्षअघि परिवारको भरणपोषणको लागि देखेको सानो सपना ठूलो त्रासदीमा परिणत भयो। दुबईमा सरसफाइको काम भनेर घरबाट बिदा भएकी सञ्जिता इराक पुग्दा मात्र आफ्नो नियति थाहा पाइन्।

    सञ्जिताका श्रीमान् वैदेशिक रोजगारीको लागि दुबई गएका थिए। तर, काम नपाएपछि आर्थिक समस्या बढ्दै गयो। आर्थिक कठिनाइबीच सञ्जिताले पनि वैदेशिक रोजगारीमा जाने निर्णय गरिन्। माइतीपट्टीकी एक महिलाको सल्लाहमा उनले भिमप्रसाद बजगाईसँग सम्पर्क गरिन्। बजगाईंले दुबईमा घर सरसफाइको कामको प्रस्ताव गरे, मासिक ४० हजार रुपैयाँ तलबको आश्वासन दिए।

    सञ्जिता दुबई जान भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेकी थिइन्। तर, उनी दुबई होइन, इराकको सुलेमायिना विमानस्थलमा ओर्लिइन्। उनलाई धोका दिएर इराक पुर्याइएको थियो।

    इराकमा उनलाई एक स्थानीय नागरिकको घरमा सरसफाइको काममा लगाइयो। उनले दिनको १४-१५ घण्टा काम गर्नुपर्‍यो। १० महिनासम्म बन्धक बनाएर चरम शोषण गरियो। त्यस अवधिमा उनलाई ६ महिनाको मात्र तलब दिइयो। कामको दौरान समयमा खाना खान नपाउने, बिरामी हुँदा आराम गर्न नपाउनेजस्ता यातना सहनुपर्‍यो।

    सञ्जिताले श्रीमान्लाई सम्पर्क गरेर दुबई नभई इराकमा पुर्याइएको थाहा दिइन्। श्रीमान्ले उनलाई फर्काउन प्रयास गरे। इराकमा रहेका नेपाली नागरिकको सहयोगमा सञ्जिता १० महिनापछि स्वदेश फर्कन सफल भइन्।

    सञ्जिता नेपाल फर्किएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा किटानी जाहेरी दिइन्। मुख्य आरोपी भिमप्रसाद बजगाईं पक्राउ परेका छन् भने अन्य अभियुक्तको खोजी भइरहेको छ। सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता भइसकेको छ।

    सरकारले इजरायल बाहेक अन्य मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ। तर, भिजिट भिसामार्फत नेपाली महिलाहरु इराकलगायत अन्य मुलुक पुगिरहेका छन्। यसरी अवैध रुपमा वैदेशिक रोजगारीमा जाँदा गम्भीर समस्याहरु सिर्जना हुने क्रम जारी रहेको छ।